This is how Pokhara-Muktinath Cable Car is being built
October 5th, 2021

काठमाडौँ । कास्कीको पोखराबाट मुक्तिनाथसम्मको केवल कार बनाउने प्रक्रिया थालनी भएको छ । केवलकारका लागि अहिले डीपीआर निर्माणको काम भइरहेको मुक्तिनाथ दर्शन प्रालिले जनाएको छ । निर्माण सम्पन्न भएमा संसारकै लामो यात्रुवाहक केवलकारका रूपमा पोखरा-मुक्तिनाथ केवलकारले गिनिज बुक अफ दी वल्र्ड रेकर्डस्मा नाम लेखिने कम्पनीले जनाएको छ ।

अहिले अष्ट्रेलियन जहाज मार्फत विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउने काम भइरहेको कम्पनीले जनाएको छ । त्यसका लागि झन्डै १० दिनदेखि अष्ट्रेलियन एक जहाजले धमाधम काम गरिरहेको छ । कम्पनीले लाइडर सर्वेका लागि जहाज काठमाडौँ झिकाएको हो । यो अष्ट्रेलियन कम्पनी एएएम ग्रुपको जहाज हो । लाइडर सर्वे संसारमै उत्कृष्ट सर्वे हो ।

 

मुक्तिनाथ दर्शन प्रालिका इन्जिनियर विकास पवनबसुले सर्वेको अन्तिम चरणमा पुगेको बताएका छन् । अष्ट्रेलियन जहाज मार्फत नेपालमा पहिलो पटक पोखरा-मुक्तिनाथ केवलकारको लाइडर सर्वे भएको हो । यो संसारमै उच्चस्तरीय प्रविधि मार्फत गरिने सर्वे हो । कम्पनीले झन्डै ७ करोड खर्च गरेर पहिलो पटक नेपालमा यो खालको प्रविधिबाट सर्वे गरेको जनाएको छ ।

कास्कीको नयाँपुलबाट मुस्ताङको मुक्तिनाथसम्म चल्ने केवल कार निर्माणका लागि सर्वे गर्न आएको जहाज अझै केही दिन नेपालमा रहने छ । जहाज अस्ट्रेलियाबाट ४ दिन लगाएर नेपाल ल्यान्ड गरेको थियो । कम्पनीले लाइडर सर्वेका लागि जहाजको विकल्प नभएको र त्यस प्रकारको प्रविधि अस्ट्रेलियामा मात्र रहेकाले जहाज मगाउनु परेको जनाएको छ ।

केवल कार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ केवल कार दर्शन प्रा.लिबीच यसअघिनै सम्झौता भइसकेको छ । केवलकारमा १९ वटा स्टेसन रहनेछन् । बीरेठाँटीबाट मुक्तिनाथको बिचमा थप ६ वटा स्टेसन रहने छन् । ती स्टेसनमा यात्रु झरेर त्यहीँ बास बसी अर्को दिन यात्रा सुरु गर्न सक्नेछन् । या केही बेर पछि पुनः यात्रा सुरु गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले हरेक स्टेसनमा होटेल, लज तथा रेष्टुरेन्ट बनाउने छ ।

 

आयोजनाको कूल लागत झन्डै ५० अर्ब हुने छ । समझदारी पत्रमा हस्ताक्षर भएको मितिले १८ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन तयार पारी बोर्डसमक्ष पेस गर्नुपर्नेछ भने डीपीआर सकिएको तीन वर्षमा निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

८४.१ किलोमिटर लामो केवल कार निर्माण गर्न सरकारबाट सम्झौता गरेको कम्पनीले अहिले धमाधम डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कन अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । डीपीआर बनाउने जिम्मा इटालियन कम्पनी रोप्स जीएमबीएसले पाएको थियो । लाइडर सर्वेको डाटा एक महिनाभित्र कम्पनीले पाउने छ । त्यसपछि ४ महिनाभित्र डीपीआरको काम सम्पन्न हुनेछ ।

निर्माण सम्पन्न भएमा कास्कीको वीरेठाँटीबाट मुक्तिनाथसम्म निर्माण हुने यो केवल कार संसारकै सबैभन्दा लामो यात्रु बाहक केवल कार बन्ने कम्पनीको दाबी छ । कास्कीको वीरेठाँटीबाट घोरेपानीसम्म एउटा स्टेसन राखिएको छ । दोस्रो स्टेसन तातोपानी, तेस्रो लेते, चौथो कोबाङ, पाँचौँ जोमसोम र छैटौँ कागबेनी गरी कूल ६ वटा स्टेसन यस आयोजनाको बिचमा बन्नेछन् । अन्तिम स्टेसन मुक्तिनाथ हुनेछ । 

आयोजना सम्पन्न गर्न ५० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यसमा ४० अर्ब रुपैयाँ वैदेशिक कर्जा रहने कम्पनीले जनाएको छ ।

This is how Pokhara-Muktinath Cable Car is being built