विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबलकारको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्न वन तथा वातावरण मन्त्रालयले सहमति दिएको छ । केबलकार कम्पनी मुक्तिनाथ दर्शनले अब ईआईएको काम सुरु गर्ने अध्यक्ष अरुणकुमार सुवेदीले बताए ।
‘अनुमति मागेको दुई वर्षपछि ईआईए गर्न सरकारबाट अनुमति पाएका छौं’, उनले भने, ‘अब आयोजनामा ईआईएको काम सुरु गर्ने छौं ।’ स्थानीय तहले गर्ने सहजताका आधारमा ईआईए पूरा हुने उनको भनाइ छ ।
स्थानीय तहले सहयोग गरेमा निर्धारित समयमा ईआईएको काम सकेर आउँदो २०७९ वैशाखभित्र केबलकारको शिलान्यास गर्ने उनले सुनाए । ईआईए सकिने बित्तिकै केबलकारको संरचना बनाउने काम सुरु हुनेछ ।
ईआईए सकिनासाथ लगानी बोर्डसँग आयोजना विकास सम्झौता (पीडीए) हुने अध्यक्ष सुवेदीले सुनाए । काम सुरु गरेको ६ महिनामा ईआईएको काम सक्ने लक्ष्य मुक्तिनाथको छ । ईआईएको क्रममा विभिन्न स्थानमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने हुन्छ । यसमा स्थानीय तहको सहयोग आवश्यक पर्ने उनको भनाइ छ ।
मुक्तिनाथले केबलकारको डीपीआर तयार पारी गत वर्षको कात्तिक १५ गते लगानी बोर्डमा बुझाएको थियो । यो वर्ष पीडीए, वित्तीय व्यवस्थापन र निर्माण सम्झौताको काम सकेर आगामी वर्षदेखि केबलकार संरचनाको निर्माण थाल्ने योजना मुक्तिनाथ दर्शनको छ ।
कोरोना महामारीले केबलकारको काम अवरुद्ध हुँदा ढिलाइ हुन गएको छ । यद्यपि काम सुरु भएको ४३ महिनाभित्र निर्माण सकेर केबलकार सञ्चालन गर्ने लक्ष्य कम्पनीको छ । डीपीआरले केबलकार पूर्वाधार बनाउन ५३ अर्ब रुपैयाँ लाग्ने संभाव्यता अध्ययनले देखाएको छ ।
यद्यपि यो १ डलरबराबर ११७ रुपैयाँको आधारमा यो रकम लाग्ने देखाइएको हो । डलर तलमाथि भइरहेकाले लागतमा केही घटबढ हुनेछ । यसअघिको संभाव्यता अध्ययनअनुसार केबलकार संरचना बनाउन ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।
करिब ४३ अर्ब बैंकहरूबाट ऋण लगानी हुने र बाँकी १० अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) जुटाउने काम हुनेछ । लगानी जुटाउन सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने योजना मुक्तिनाथको छ । हालसम्म ४० करोड रुपैयाँभन्दा बढी इक्विटी लगानी जुटेको उनले बताए । सोही रकमले आयोजनाको डीपीआर पूरा गरेको उनको भनाइ छ ।
यस्तै डिबेञ्चर जारी गरेर लगानी जुटाउने तयारी मुक्तिनाथको छ । २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण हुने गरी लगानी संरचना तयार पारिएको छ । केबलकारको प्रतिफल १३ प्रतिशत देखिएको छ ।केबलकारमा लगानी गर्न स्वदेशी विभिन्न बैंकहरूसँग छलफल भइरहेको छ । पीडीएपछि मात्र बैंकहरूसँग ऋण लगानी सम्झौता हुनेछ ।
कास्कीको बीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकारको लम्बाइ ८०.१५ किलोमिटर हुनेछ । केबलकारमा ७७६ वटा गोन्डा राख्न प्रस्ताव गरिएको छ । मुक्तिनाथ केबलकार १ हजारदेखि ३ हजार ७ सय मिटरको उचाइसम्म पुग्नेछ । केबलकारको प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने योजना विकासकर्ताको छ ।
केबलकारमा टप र वटन गरी १९ वटा स्टेसन हुनेछ । यसमध्ये ८ वटा स्टेसनमा अनिवार्य रूपमा ओर्लिनुपर्छ । ५ वटा स्टेसनमा अत्यावश्यक भएमा मात्र ओर्लिन पाउने र ११ वटा स्टेसनमा बासबसेर जान पाइने व्यवस्था छ । यद्यपि, एउटा टिकटको ७ दिन समय हुनेछ । ७ दिनभित्र फर्किनुपर्छ ।
वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान गरिएको छ । यही क्षमताको गोन्डला राखिने प्रस्ताव गरिएको छ । केबलकार संरचना बनेर सञ्चालनमा आएपछि १३ मेगावाट बिजुली चाहिने भएको छ ।
लामो र ठूलो केबलकार भएकाले १३ मेगावाट बिजुली खपत हुने डीपीआरमा उल्लेख छ । ०७५ भदौ २७ गते लगानी बोर्ड र मुक्तिनाथ दर्शनबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो ।
केबलकारको पहिलो स्टेसन बीरेठाँटीमा हुनेछ । बीरेठाँटीदेखि घोडेपानी १३.३१ किलोमिटर हुनेछ । दोस्रो स्टेसन घोडेपानीदेखि तातोपानीसम्म १२.७३, तेस्रो तातोपानी लेते १६.४४, चौथो लेतेदेखि जोमसोमसम्म २३.९२, चौथो जोमसोमदेखि कागबेनी ८.२४ र कागबेनीदेखि रानीपौवा मुक्तिानाथसम्म ९ किलोमिटर रहेको कम्पनीले जनाएको छ ।